friday-story-kanun-post

‘अदालतको कठघरामा शब्द हारेपछि…’

सेयर गर्नुहोस्
  • 1.6K
  • 23
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

नेपाली गीत र साहित्यिक कृतिका शब्दमाथि लामो समयदेखि प्रहार

नेपाली गीत र साहित्यिक कृतिका शब्दमाथि लामो समयदेखि प्रहार हुँदै आएको छ। इतिहास खोतल्दै जाने हो भने त्यस्ता गीत, कृतिको सूची लामै बन्ला। विगत दुई महिनायताकै घटना हेर्ने हो भने पनि लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका शब्दमाथि निकै टीकाटिप्पणी भयो। गीतका शब्दप्रति आपत्ति जनाउँदै नेकपा निकट युवासंघका नेताबाट गीत हटाउन पशुपतिलाई धम्की आयो। पशुपतिले दबाब खेप्न सकेनन् र गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट नै हटाउनुपर्‍यो। उक्त विषय त्यत्तिमै सीमित रहेन। संसद्मा समेत यसले स्थान पायो।

यस्तै फागुन १५ गने बादी समुदायको समस्या उठान गरेर २०७४ सालमा प्रकाशित गरिएको सरस्वती प्रतीक्षाको औपन्यासिक कृति ‘नथिया’ र विवेक ओझाद्वारा लिखित ‘ऐलानी’ तथा चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ। बादी समुदायको समस्या उठान गरेका कृतिमाथि बादी समुदायकै महिलाले आपत्ति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

मीना नेपालीसहितको समूहले सर्वोच्चमा रिट दायर गरेको थियो। उनीहरुले आफ्नो समुदायको आत्मसम्मानमा ठेस पुग्ने शब्द कृतिमा प्रयोग भएका भन्दै लेखकले बादी समुदायसँग क्षमा माग्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका बादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने शब्द हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको छ।

यतिबेला यो विषयले नेपाली साहित्यमा नयाँ बहस सिर्जना गरेको छ। एउटा सर्जकले समाजमा व्याप्त विकृति, विसंगतिहरुलाई शब्दमा गुथेर बाहिर ल्याउने हो। त्योभित्र कुनै पात्र र प्रवृतिले आफूलाई पाउन सक्छ। सामाजिक मर्यादाभित्र रहेर लेखिएका कुरामा कसैले आफूलाई भेट्टाउनुलाई संयोगका रुपमा लिइन्छ। तर यतिबेला सिर्जना भएको नयाँ बहसमा कोही लेखकले पनि लेख्दा सजक हुनुपर्ने पक्षमा उभिएका छन् भने कोही लेखक स्वयम् संयम भएर लेख्ने व्यक्ति भएकाले लेखकीय स्वतन्त्रतामा कसी लगाउन नहुने पक्षमा उभिएका छन्।

अलमलमा लेखक

‘ऐलानी’ का लेखक विवेक ओझाले वादी समुदायका पक्षमा फैसला भएको समाचार सञ्चारमाध्यमबाट सुनेको बताएका छन्। ‘आधिकारिक पत्र, खबर प्राप्त भएको छैन’, उनले भने, ‘सञ्चारमाध्यमबाट खबर पाउँदा दुविधा भएको छ।’

उनले आफू अहिले दुविधामा भए पनि जुन क्षेत्र र समुदायका मान्छेको कथा लेखेको हो त्यो क्षेत्रका मान्छे अझै उक्त समस्याबाट ग्रसित रहेको बताए। ‘जुन पृष्ठभूमिमा कथा लेखिएको हो त्यो क्षेत्रका मान्छे अझै पनि समस्यामा छन्,’ उनले भने, ‘मुद्दा दायर गर्नेमा त्यो क्षेत्रका मान्छेको संलग्नता छैन। मुद्दा दर्ता गर्नेमा एक जना मात्रै त्यो क्षेत्रका मान्छे सहभागी भए पनि खुसी तुल्याउँथ्यो।’

उनले यसले के लेख्ने के नलेख्ने भनी दुविधा सिर्जना गरेको गुनासो गरे। आफूले समाजको यथार्थ प्रवृत्ति त्यसै समुदायमा गएर बुझेर लेखेको बताउँदै उनले कृतिमा कुनै पनि गलत वा कसैप्रति आँच आउने कुरा नभएको दाबी गरे।

‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाको पनि विवेककै जस्तो प्रतिक्रिया छ। उनले पनि सञ्चारमाध्यमबाट निर्देशनात्मक आदेश जारी भएको सुने पनि आफूहरुलाई आधिकारिक जानकारी आइनसकेकाले धेरै भन्न नमिल्ने बताइन्। आफूलाई उक्त आदेशबारे आधिकारिक जानकारी प्राप्त भएपछि मात्रै अन्य कुरा भन्न मिल्ने उनको भनाइ छ। उनी पनि अदालतको निर्णले अलमलमै परेको देखिन्छ।

यस्तो भन्छन् वकिल

यसै विषयमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अदालतले कुनै सर्जकको पुस्तकमाथि यतिधेरै गर्न नहुने टिप्पणी गरेका छन्। ‘म यो विषयमा धेरै बोल्न चाहन्न। अदालतले यतिसम्म गर्न नहुने हो’, नेपाल समयसँग उनले भने, ‘लेखकलाई केही हदसम्म स्वतन्त्रता छ। यसमा ध्यान दिनुपर्छ।’

अधिवक्ता ओमप्रकाश अर्यालको भने यो विषयमा फरक मत छ। जोसुकैले कुनै जाति, सुमदायको आत्मसम्मानमा ठेस पुग्ने गरी लेख्न नहुने उनले बताए। ‘संविधानको धारा १७ (२) को प्रतिबन्धात्मक वाक्यांश विचार अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा कसैको बेइज्जती हुने सार्वजनिक शिष्टाचार र नैतिकतामा प्रतिकूल असर पर्ने कार्यलाई रोक्न खोजको देखिन्छ’, उनले भने, ‘सोही धारामा टेकेर यो फैसला भएको देखिन्छ।’

उनले विचार अभिव्यक्तिको स्वतन्त्रताका विषयमा लेखक र प्रकाशन गृहले ध्यान दिनुपर्ने बताए। जुन समुदायको उत्थानको लागि लेखिएको हो त्यो समुदायले अपनत्व गर्न नसक्दा यो समस्या सिर्जना भएको उनको ठहर छ।

के भन्छन् साहित्यकार

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लेखकहरुले आफ्नो कृतिको उद्देश्यबारे अदालतलाई बुझाउन नसक्दा यो निर्णय आएको हुन सक्ने बताए। लेखकले समाजका विकृतिलाई बाहिर ल्याउने भए पनि संयमित भएर लेख्न आवश्यक रहेको उनको भनाइ छ। ‘लेखकले नयाँ परिवर्तनको कुरा गर्छन् । लेखनलाई कुण्ठित पारिनु हुँदैन’, उनले भने, ‘तर यस्तो भन्दैमा हामीले जे लेखे पनि हुन्छ भन्ने होइन। जातीय मामिलामा संवेदनशील हुनुपर्छ। मुद्दा दायर भइसकेपछि आफूहरुको लेखनीबारेमा अदालतले सोधेको बेला प्रस्ट भन्न सक्नुपर्‍थ्र्याे। अदालतले फैसला गरिसकेको अवस्थामा त्यसविपरीत जानु हुँदैन। यसले अदालतसँगको दूरी मात्र बढाउँछ।’

यस्तै मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले पनि उक्त समुदायको पीडा नजिकबाट बुझेका छन्। उनले अदालतको यो फैसलापछि लेखकले सचेत हुनुपर्ने बेला आएको बताए।

लेखक स्वतन्त्रताका पुजारी भएको बताउँदै जोशीले कुनै समुदायको आत्मसम्मानको ख्याल गर्नुपर्नेमा जोड दिए। ‘तर यस अर्थमा कुनै समुदाय, व्यक्ति वा वर्गमाथि राज्य अथवा कुनै शक्तिले गरेको विभेदविरुद्ध आवाज उठाउने एउटा सशक्त पात्र लेखक नै हो’, उनले भने, ‘लेखकले विगतदेखि नै ती कुरामा आवाज उठाउँदै आएको हो। त्यो समुदायलाई न्याय नै दिलाउने लेखकको अभिष्ट हुन्छ। त्यस्तो अवस्थामा सोच विचार नगरी आपत्तिनै जनाइहाल्नुपर्छ भन्ने छैन।’

‘परम्परादेखि चलिआएका विसंगति विकृति र रूढिवादीमाथि लेखकले सहीछाप लगाउने मात्र होइन’, उनले भने, ‘उसले त्यसविरुद्ध पनि लेख्छ। किनकि लेखक परिवर्तन, स्वतन्त्रता र आत्म सम्मानको खोजी गर्ने एउटा पात्र हो। त्यो समुदायले लेखकको आवाज नबुझेको हो कि ?’

त्यो मुदायमाथिको विभेद अन्त्य होस् भन्ने ध्येयका साथ लेखिएको कुरालाई लेखकले पनि त्यो समुदायलाई बुझाउन सक्नुपर्ने जोशीको ठहर छ। उनले वादी समुदायले हिजोको कुरालाई स्वीकार्न नसकेकाले पनि यो समस्या देखिएको हुन सक्ने बताए। नेपाल समय

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.6K
  • 23
  •  
  •  
  •  
  •  
    1.7K
    Shares