nirmala

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला !

सेयर गर्नुहोस्
  • 2.4K
  • 46
  •  
  •  
  •  
  •  
    2.4K
    Shares


अधिवक्ता: निता कार्की

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला”
चस्मा भित्रका ती चहकिला आँखा
जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ ।
निर्भीक, निश्चल त्यो मुस्कान
ताजै छ तस्वीरमा,
तर मात्र तस्वीरमा;
त्यो तस्वीर भित्रका सजीव आँखा
अनि मुहारमा छाएको मन्द मुस्कान,
अब मात्र तस्वीरमा सीमित रहनेछ,
र तर्साउन आइरहन्छ मेरो अघिल्तिर ।
अनि प्रश्न गर्छ,
के दोष थियो मेरो ?
कहाँ सुरक्षित छु म ?
चार दिवारमा खुम्चिन नसक्नु मेरो गल्ती हो ?
छोरी भएर जन्मिनु, अभिशाप हो ?
यो धरतीमा जिउने मेरो कुनै अधिकार थिएन ?
के म कोपिला मै चुडिन जन्मिएकी हुँ ?
भेषधारी नरपशु मैले कसरी चिन्नु ?
आदि, इत्यादि यी प्रश्नहरुले
मलाई भित्रैदेखि गालेका छन् ।
पिरोलेका छन्, विक्षिप्त छु म!
यी प्रश्न अब तिम्रा मात्रै पश्न रहेनन्
बहिनी निर्मला ।
यी मेरा पनि प्रश्न हुन् ।
मैले मात्र कहाँ सुरक्षित महशुस गरेकी छु र !
पाइलै पिच्छे हच्किन्छु, तर्सिन्छु ।
मलाई नि मेरै बुबाको विश्वास लाग्न छाडेको छ ।
शीर झुकाएर आशीर्वाद माग्न
आउने भाइप्रति म विश्वस्त हुन सक्दिन ।
खुलेर पराइसँग वाद-प्रतिवाद गर्नुत परको कुरो,
मेरै दैलामा भीख माग्न आएको
सन्यासी देख्दा डर लाग्छ मलाई ।
मैले प्रयास नगरेको कहाँ हो र
आफुलाई संहाल्न खोजेकै हुँ ।
आशावादी बनेकै हुँ ।
हरेक दिनको खबरमा मेरा आँखा पुग्छन् ।
हरेक दिनका आन्दोलनले मलाई साहस दिन्छ ।
‘दोषी पक्रियो’ भन्ने सन्देश,
‘रहस्य खुल्यो ‘ भने खबर अनि,
‘हत्यारा सार्वजनिक हुँदैछ’ भन्ने
ताजा खबर,
सिठ्ठी जुलुस
अर्धनग्न जुलुस
हस्ताक्षर संकलन
पत्रकार सम्मेलन
संसद वहिष्कार
हडताल, चक्काजाम ।आदि, इत्यादि ।
तर अह !
अपराधीको अट्टाहास रोकिएन ।
ऊ खुलेआम नाचिरहेछ,
उच्छ जीवन बाँचिरहेछ,
रगत पिएको त्यो मत्त सिकारी
कुनबेला, कुनपल मेरो अन्तिम पल हुनेछ ।
म अनविज्ञ छु ।
मेरो जीवनको अन्त्य,
निर्मलाको जस्तै भयानक हुन सक्छ,
बीभत्स हुन सक्छ ।
यो गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला !!

Facebook Comments

सेयर गर्नुहोस्
  • 2.4K
  • 46
  •  
  •  
  •  
  •  
    2.4K
    Shares