manab-taskar

नेपालमा मानव बेचबिखन जटिल बन्दै

सेयर गर्नुहोस्
  • 547
  • 3
  •  
  •  
  •  
  •  
    550
    Shares

नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ ।

नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन् ।

नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक वर्षको अवधिमा ८६९ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट भएको छ । बेचिएको तुलनामा उद्धारको प्रतिशत अत्यन्तै न्यून हुनु यसको अर्को दुःखद् पक्ष हो । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, उक्त अवधिमा हराएकामध्ये अहिलेसम्म २९७ जना मात्र फेला परेको छन् । त्यस अवधिमा बाँकेको नेपाल–भारत सीमानाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ८९६ जनालाई परामर्श दिएर घर फर्काइएको थियो भने भारतमा यौन शोषणमा परेका सात जनाको माइती नेपाल उद्धार गरेको थियो ।

पछिल्लो समय मानव बेचबिखनको समस्याले विश्वलाई नै गाँजेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । पछौटेपन र गरिबीलाई मानव बेचबिखनको मुख्य कारण मानिन्छ । नेपालले पनि यही नियति भोग्दै आएको छ । नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन् ।

नेपाल सरकारले भारतको बाटो भएर तेस्रो मुलुकमा रोजगारीका लागि जान रोक लगाएको छ तर, मानव दलालले भने विभिन्न जिल्लाका महिला तथा किशोर अवस्थाका बालबालिकालाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाने गरेको मानव बेचबिखनविरुद्ध काम गदै आएका सङ्घसंस्थाले बताउँदै आएका छन् । माइती नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडीमुलुकमा बेचिने गरेका छन् ।

नेपालका अन्य सीमावर्ती नाकाजस्तै बाँकेको सीमानाका जमुनहा हुँदै पनि प्रत्येक वर्ष नेपाली महिला र बालबालिकालाई भारत र तेस्रो मुलुकमा लगेर बिक्री गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले केही दिनअघि मात्रै भारतमा बेच्न लिएर लाँदै गरेको अवस्थामा उक्त नाकाबाट ४५ महिलाको उद्धार गरेको थियो ।

मानव तस्करले नयाँ तरिका अपनाउँदै भारतको विभिन्न स्थानमा पठाउने तयारी गरिरहेको अवस्थामा ती महिलाको उद्धार गरिएको थियो । सो घटनामा दुई जना दलाललाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो । अर्कोतर्पm तेस्रो मुलुकमा बेचिएका नेपाली महिला तथा बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र नहुँदा उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । सचेतनाको कमी, गरिबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न कारणले मानव बेचबिखन बढ्दै गएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाको ठम्याइ छ ।

“बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ”

सन् २०१९ को एक वर्षे अवधिमा दिल्ली पुर्याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।

संयोजक कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ ।

कामको प्रलोभनमा अवैधरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ । राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारेर महिलालाई अवैरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ छ ।

माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिनहुँजसो निवेदन

अर्कोतर्फ , मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ । यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्धार, पुनःस्थापन र पैरवीसमेत हुँदै आएको छ ।

बाँकेको सीमानाका हुँदै रोजगारीका लागि अवैधरूपमा भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिनहुँजसो निवेदन दिनुलाई मानव बेचबिखन नेपाली समाजका लागि दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्दा अतिशयोक्ति नहोला ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 547
  • 3
  •  
  •  
  •  
  •  
    550
    Shares