1.5K 87 - 1.6KShares
विसं २०२० सालदेखि लागू रहेको मुलुकी ऐनलाई प्रतिस्थापन गरी लागू भएका मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसूर (सजाय निर्धारण र कार्यान्वन) ऐन, २०७४ ले विश्वव्यापी रुपमा देवानी तथा फौजदारी कानूनमा विकास भएका नवीनतम अवधारणालाई समेत आत्मसाथ गरेका छन् ।
नागरिकका दैनिक व्यवहार सञ्चालनदेखि समाजमा शान्ति र व्यवस्था कायम राख्न नयाँ संहिताहरूको माध्यमबाट मद्दत पुग्ने विश्वास कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले लिएको छ ।
हरेक मुलुकको कानून प्रणालीले समाज विकासको क्रमसँगै कानूनी सुधारको समेत अपेक्षासमेत लिएइको मन्त्रालयले उल्लेख गरेको छ ।
आज यहाँ मुलुकी देवानी संहितामा उल्लेख गरिएको व्वस्थाअनुसार कस्तो सम्पत्तिलाई निजी, सार्वजनिक, र सरकारी मानिन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।
१) निजी सम्पत्ति
कुनै व्यक्तिको नाममा रहेको देहायको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिने छ ।
- आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
- दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको,
- चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको,
- पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको,
- बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको,
- कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको, महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
- महिलालाई पति वा पति तर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
- कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको
२) सार्वनजिक सम्पत्ति
सार्वजनिक प्रयोजनको लागि रहेका देहायको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिने छ ।
- परापूर्वकालदेखि रहेको घर, जग्गा, ढल वा बाटो,
- कुवा, पँधेरो, पानीघाट, इनार, पोखरी तथा त्यसको डील,
- गाईवस्तु निकाल्ने निकास, गौचर, खर्क, अन्त्यष्टीस्थल, चिहान, मसानघाट, समाधिस्थल कब्रिस्थान रहेको जग्गा,
- पाटी, पौवा, देवल, धार्मिक उपासनास्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जीद, इदगाह, कब्रगाह, गिर्जाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा,
- हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा,
- सार्वजनिक प्रयोजनको लागि कसैले प्रदान गरेको निजी सम्पत्ति,
- नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक सम्पत्ति भनी तोकिदिएको अन्य सम्पत्ति ।
३) सरकारी सम्पत्ति
नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देहायको सम्पत्ति सरकारी सम्पत्ति
मानिने छ ।
- सरकारी घर, भवन वा जग्गा,
- सडक, बाटो वा रेल्वे,
- वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान,
- नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल,
- नहर, कुलो वा ऐलानी, पर्ती जग्गा,
- खनिज वा खनिज पदार्थ,
- हिमाल, भीर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा,
- सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको सम्पत्ति बाहेकको अन्य सम्पत्ति ।

1.5K 87 - 1.6KShares