के हो यौनिक तथा लैंगिक हिंसा ?

सेयर गर्नुहोस्
  • 1.3K
  • 3
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

हिंसा के हो ?
सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, लैङ्गिक, जातिय, धार्मिक आधारमा व्यक्तिलाई गरिने भेदभाव, बहिष्कार, असमानता, अत्याचार, कुटपिट, दमन, शोषण आदि जस्ता कसूरजन्य क्रियाकलाप नै हिंसा हो । हिंसा यातनाको रुप हो । यस्ता हिंसा परिवार भित्र, समुदायमा, कार्यस्थलमा समाजमा र राज्यद्वारानै पनि हुने गर्दछ । हिंसा शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक आदि विभिन्न स्वरुपका हुन्छन् । नेपाल लगायत जहाँ सुकै पनि अधिकांश हिंसाहरु महिला विरुद्ध भैरहेका छन् ।

महिला विरुद्ध हुने हिंसा
महिला विरुद्धको हिंसा भन्नाले महिला भएकै आधारमा कुनै महिला उपर भेदभाव गरी गरिने बहिष्कार, असमानता अन्याय अत्याचार, दमन, शोषण जस्ता कसूरजन्य कार्यहरु लगायत कु.प्रथा तथा कु. संस्कारका कारण महिला घरेलु हिंसाका शिकार भएका, बलत्कार बैबाहिक वलत्कार यौनजन्य दुव्र्यवहार लगायत यौन हिंसा, कार्यस्थलमा हुने हिंसा तथा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, मानसिक, शारिरीक हिंसा लगायतका विभिन्न स्वरुपका हिंसाका शिकार महिला भैरहेका छन् ।

पितृसतात्मक सामाजिक संरचना सोच व्यवहार, परम्परागत मूल्य मान्यता सामाजिक न्यायको अभाव गरिवी, अशिक्षा, कुरिती, कुसंस्कारको कारणले महिला र पुरुष विच रहेको असुन्तलित शक्ति सम्बन्धले गर्दा महिलाको समाजमा रहेको न्यून स्थान, राज्यद्वारा निर्मित भेदभावपूर्ण कानून, विभेदकारी रिति रिवाज र महिला कन्या दान भएर पुरुषकै घरमा जानु पर्ने बैवाहिक परम्पराका कारणले गर्दा महिला भएकै कारणले उनिहरुमाथि हिंसा हुने बढी खतरा छ, यस्तो भैरहेको यथार्थ पनि छ । लिङ्गमा आधारित महिला विरुद्धको हिंसा लैङ्गिक भेदभावको प्रमुख एउटा रुप हो ।

महिला हिंसालाई, महिला विरुद्धको हिंसा उन्मूलन सम्बन्धी घोषणा–पत्र १९९३ले निम्न बमोजिम परिभाषित गरेको पाईन्छ :–“सार्वजनिक वा निजि जिवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौन जन्य वा मानसिक क्षति पु¥याउँछ वा पु¥याउने संभावना हुन्छ जस अन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दवाव र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा वन्देज समेत पर्दछ ।”

राधिका कुमारा स्वामीले “महिला सदस्य विरुद्ध हुने लैङ्गिकतामा आधारीत शारीरिक, मानसिक, र यौनजन्य दुव्र्यवहारहरु लगायत अन्य प्रकारका दुव्र्यवहारहरु जसभित्र शारिरीक चोटपटक, धाक, धम्कीको प्रयोग, भय, त्रास र डर देखाउनु वलको प्रयोग÷जवरजस्ती गर्नु, अपहरण गर्नु, जर्वजस्ती वा अनाधिकृत रुपमा पछ्याउनु, आगो लगाउनु, सम्पत्तीको विनास गर्नु, यौनजन्य हिंसा, बैबाहिक वलात्कार, दाइजो वा तिलकसँग जोडिएर आउने हिंसा, महिला जनेन्द्रीयको अंगभंग गर्नु, यौनशोषण गर्नु र यसको उद्योग गर्नु” भनेर परिभाषित गर्नु भएको छ ।

संयुक्त राष्ट्रसंघको महिला उपर हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने समितीको सिफारिस नं. १९ ले “लिङ्गको आधारमा हुने हिंसालाई महिला विरुद्ध हुने भेदभावकै एउटा स्वरुप हो जसले महिलाको अधिकार एवं स्वतन्त्रता उपभोग गर्नबाट बंचित गर्दछ” भनेर परिभाषित गरिएको छ भने, बेइजिङ्ग घोषणा–पत्रमा “महिला विरुद्धको हिंसा समानता प्राप्त गर्ने वाटोको वाधक तत्व हो । महिला विरुद्धको हिंसा जुनसुकै स्थानमा चाहे त्यौ सार्वजकि स्थलमा होस वा कार्यस्थल वा घरभित्र होस त्यो महिलाको मानव अधिकारको विषय हो ” भनिएको छ ।

यसरी महिला विरुद्धको हिंसा भन्नाले महिलालाई दिएको शारिरीक, मानसिक, यौनजन्य, राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक एवं भावनात्मक दुव्र्यवहार भएको भन्ने बुझिन्छ । पितृसत्तात्मक सोच, मूल्य र मान्यतामा आधारीत असुन्तलित सामाजिक संरचनाको कारणले विश्वका जुनसुकै समाजमा पनि पुरुषको तुलना बर्षौदेखि विभेदित अवस्थामा महिलाहरु रहेका कारणले महिला माथि बढि हिंसा भैरहेको छ । दक्षिण एसियाको मानव विकास प्रतिवेदन सन् २००० मा दक्षिण एसियाली महिला भएर बाँच्नु भनेको निरन्तर संघर्ष गर्नु हो ।

यस क्षेत्रका महिलाले मानव जातिले पाउनुपर्ने व्यवहार पाउँदैनन् भनिएको छ । यस्तो हिंसा समानता विकास र शान्तिको वाधक तत्व भएको हुनाले महिलाको मानव अधिकार, अर्थात महिला माथि हुने सबै किसीमका यातना, दुव्र्यवहार, भय, त्रास, आतंक, भोक, रोग र दासत्वबाट मुक्त नहुने, सम्मान पुर्वक बाँच्न पाउने जीवनको अधिकार अर्थात आत्मा सम्मानको अधिकार र स्वतन्त्रताको हकको उलंघन हुन्छ । यस्ता महिला विरुद्धका हिंसाका स्वरुपहरु निम्न बमोजिम देखिन्छन्

क) शारिरीक हिंसा :– महिलालाई कुटपिट गर्ने, वलपूर्वक गर्भपतन गर्न लगाउनु, अंगभंग, थुन्नु, जलाउनु, बढि कार्य बोझ थोपरेर बढि दुःख दिनु, आदि हिंसा शारिरीक हिंसा भित्र पर्दछन् ।

ख) मानसिक हिंसा :– महिला भएकै कारण होच्याउने, धम्की दिने, हेप्ने, उनीहरुलाई गाली गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पु¥याउने, झुठ्ठा आरोप लगाई बेइज्जती गर्ने जस्ता कामहरुले मानसिक हिंसा निम्त्याउँछ ।

ग) यौनजन्य हिंसा :– महिलाको इच्छा विपरित जवर्जस्ती यौन सम्पर्क गर्ने(जर्वजस्ती करणी), यौनजन्य दुव्र्यवहार गर्ने, यौन यातना र यौन शोषण गर्ने, बैवाहिक बलात्कार, हाडनाा करणी, मानव बेचबिखन र ओसारपसार आदि ।

घ) आर्थिक हिंसा :– महिलालाई आर्थिक श्रोत र साधनबाट बञ्चित गर्नु, आर्थिक श्रोत र साधनमा महिलाको नियन्त्रण नहुनु र सम्पत्तिको महिलाको स्वीकृति र सहमति बेगर दुरुपयोग गर्नु । महिलालाई रोजगारी गर्न नदिनु, अन्य आय आर्जनको कामबाट बञ्चित गर्नु आदि ।

ङ) सामाजिक हिंसा :– छोरीलाई नासोको रुपमा लिई उमेर नपुग्दै विवाह गरिदिनु, बहुविवाह, जर्वजस्ती विवाह, ढाँटी विवाह, घरेलु हिंसा, दाइजोजनित हिंसा आदि ।

च) प्रथा परम्परा जनित(साँस्कृतिक) हिंसा :– बोक्सीको आरोपमा कुटपिट, गाउँ निकाला, सामाजिक बहिष्कार, मलमुत्र खुवाउने, मानसिक यातना दिई बेइज्जत गर्ने, महिनावारी हुँदा अछुतको व्यवहार गर्ने, सुत्केरी हुँदा घरमा नराखी गोठमा राख्ने, रजस्वला नभई विवाह गर्दा पुण्य पाइन्छ भन्ने मान्यता एवं देउकी, वादी, झुमा, जारी आदि प्रथाहरु ।

छ) राजनितिक हिंसा :– परिवारबाट महिलालाई राजनिति प्रवेशमा रोक लगाउने र असहयोग गर्ने एवं पितृसत्तात्मक सामाजिक संरचनाको कारणले शक्ति असन्तुलन राजनीतिमा न्यून सहभागिता आदि ।

ज) अन्य हिंसा :– महिला भएकै कारण राज्य निर्मित कानूनमा महिलालाई भेदभाव गर्नु, नागरिकता दिन र लिन कानूनी विभेद र व्यवहारमा कठिनाई, छोरा सरह छोरीलाई शिक्षाको पहुँच नहुनु, महिलाको स्वास्थ्योपचारमा लापर्वाही, भेदभावपुर्ण वैवाहिक परम्परा, जुन महिला कन्या दान भएर पुरुषकै घरमा जानुपर्ने कारणले पनि महिला हिंसा बढी निम्त्याएको छ ।

महिला विरुद्धको हिंसा हाम्रो देशमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म र विश्वभरी नै अन्तराष्ट्रिय स्तरसम्म भेटिन्छ । यस्तो हिंसाहरु वर्ग, जात, जाति, सँस्कृति समाज र राजनीतिमा समेत व्यक्त छ । कुनैपनि क्षेत्र महिला हिंसाबाट अछुतो छैन । आजको बैज्ञानिक युग र सभ्यताको २१ औं शताब्दीमा महिलाहरुले महिला भएकै आधारमा हिंसा सहन बाध्य छन् । महिला भएकै कारण उनीहले जीवनभर थुप्रै क्रुर यातना र हिंसा व्यहोर्नु परिरहेको छ ।

महिला विरुद्ध हुने यस्ता हिंसा र त्यसको परिणामहरुले महिला अधिकारवादी एवं महिलाहरु स्वयं अत्यन्तै सम्वेदनशीलताका साथ साथै चिन्तित बनेका छन् । हिंसाबाट पीडित व्यक्तिहरुले न्याय प्राप्त गर्न कानुनमा रहेको अपूर्णता, असहजता एवं कार्यविधिगत जटिलताको कारणले असम्भव प्रायः देखिएको छ । न्यायमा पहुँच हुन नसक्ने कारणले यस्ता हिंसाका अधिकांश घटनाहरु बाहिर आउँदैनन् । न्यायमा सहज पहुँच हुन सक्छ कि भन्ने आशामानै घटनाहरु दर्ता हुने गरेका पनि छन् भन्ने कुरा अध्ययनहरुले पनि देखाएका छन् ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.3K
  • 3
  •  
  •  
  •  
  •  
    1.3K
    Shares