rabi lamichhane

लामिछानेलाई अनुसन्धानका लागि पुनः पाँच दिनको म्याद थप

सेयर गर्नुहोस्
  • 1.5K
  • 27
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ ।

तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गर्नुभएको हो । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अनुसन्धानका अन्य पाटोहरु बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले १० दिन म्याद थप माग गरेको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताउनुभयो । सरकारी वकिलको मागका आधारमा पाँच दिन म्याद थप गरिएको गिरीले राससलाई जानकारी दिनुभयो । तीन नम्बर इजलासमा बहस भएको उहाँले बताउनुभयो ।

अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने

गएको बिहीबार काठमाडौँबाट पक्राउ गरेर चितवन ल्याइएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले शव परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सिसीटिभी फुटेजलगायत अन्य रिर्पोट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने प्रतिक्रिया दिनुभयो । परीक्षण रिपोर्टमा पत्रकार पुडासैनीको आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको उहाँले बताउनुभयो ।

आज पनि अदालत परिसर बाहिर लामिछानेका समर्थक भेला भएका थिए । उनीहरुले पाँच दिनदेखि प्रदर्शन गरिरहेका छन् । अन्य दिनको तुलनामा आजको प्रदर्शन शान्तिपूर्ण थियो ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.5K
  • 27
  •  
  •  
  •  
  •  
    1.5K
    Shares